भारतको बनारसमा एक जना नेपालीमाथि ज्यादतीमा संलग्‍न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्‍व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका थिए । यो घटनालाई लिएर कूटनीतिक माध्यमबाट नेपालले गम्भीर आपत्ति जनाएको थियो ।

भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा यसबारे आपत्ति जनाएपछि प्रहरी हर्कतमा आएको थियो । त्यसक्रममा दुई जनालाई पक्राउ गरिएको वाराणसी प्रहरीका एसएसपी अमित पाठकले शुक्रबार जानकारी दिएका छन् ।

पाठकका अनुसार पक्राउ पर्नेहरुमा वाराणसीमा विश्‍व हिन्दु अभियानसँग जोडिएका दुई युवा सन्तोष पाण्डेय र अरुण पाठक रहेका छन् । उनीहरुमध्ये पाण्डेयले नेपालीमाथिको ज्यादतीका क्रममा भिडियो खिचेका थिए भने पाठकले फेसबुकमा अपलोड गरेका थिए । पाठक विश्‍व हिन्दु सेनामा कार्यरत रहेका खुलेको छ।

पक्राउ परेका सन्तोष पाण्डेयले खिचेको पुष्टि भएको छ। उनको मोबाइलबाट पनि त्यो भिडियो बरामद भएको छ ।

एसएसपी पाठकका अनुसार स्थानीयस्तरमा हिन्दु धार्मिक संगठन चलाउने उनीहरुले त्यस भिडियोमा छिमेकी देश (नेपाल) का नेताविरुद्ध अमर्यादित टिप्पणी गरेको पाइएको पनि जानकारी दिए । अरुणसहित घटनामा संलग्न सबैविरुद्ध मुद्दा दर्ता भएको छ। यस घटनासँग जोडिएका सबै व्यक्तिको पहिचान भइसकेको छ। घटनामा संलग्‍न केही व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ।

नेपालीमाथि ज्यादतीका क्रममा उनीहरुले नेपालका प्रधानमन्त्रीविरुद्ध बोल्न लगाउँदै राम नेपालमा होइन भारतमा जन्मिएको हो भन्‍ने नारा पनि लगाउन लाएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्‍ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरूले विरोध गर्दै आएका छन्।

त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिइरहेका छन्। तर भारतीय विदेश मन्त्रालयले भने नेपालको परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरिसकेकाले यसबारेमा कुनै टिप्पणीको आवश्यकता नरहेको बताइसकेको छ।

यसअघि प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै रहेको, नेपालकै रामसँग राजा जनककी छोरी सीताको बिहे भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि भारतमा नेपालीहरुमाथि दुर्व्यवहार सुरु भएको हो । भारतीय नागरिकहरुले बनारसस्थित मन्दिर र धर्मशालामा ओलीविरोधी पोष्टरहरु टाँसेका थिए ।