इटहरी: चेक बाउन्स मुद्दामा धरान १६ का एक युवा नक्खु कारागार चलान भएका छन् ।
ललितपुर जिल्ला अदालतले २०७६ चैत ७ गते गरेको फैसला अनुसार धरान १६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फे पक्राउ परि जेल चलान भएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले शनिबार पक्राउ गरी कैद भुक्तानीको लागि नक्खु कारागार पठाइएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार काजलदिप राणाले प्रकाशविरुद्ध चेक अनादार (बिगो) मुद्दा हालेका थिए । उक्त मुद्दामा अदालतले २ बर्ष कैद ठहर गरेको थियो ।
झापा गौरादह नगरपालिका वडा नं. ६ घर भई हाल धरान उपमहानगरपालिका वडा नं. १६ मा बस्दै आएका सम्बाहाम्फेलाई खोजतलासको क्रममा शनिबार बिहान करिब ९ बजेको समयमा धरान १३ बाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई जरिवाना असुल उपरको लागी ललितपुर जिल्ला अदालत पठाइएकोमा आइतबार कैद भुक्तानको लागी नक्खु कारागार पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार सम्बाहाम्फे र राणाबीच जग्गा सम्बन्धी लेनदेनको विषय रहेको थियो । सोही विषयमा उनले ३० लाखको चेक राणालाई दिएको तर चेक बाउन्स भएपछि राणाले अदालतमा मुद्दा हालेका थिए । सम्बाहाम्फेको खास घर झापाको गौरादह नगरपालिका ६ घर भए पनि धरान १६ मा अभिभावक तथा परिवारसँग बस्दै आएका थिए ।