संखुवासभा : संखुवासभाको चैनपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ३ नेता तथा कार्यकर्ता अदालत परिसरबाटै पक्राउ परेका छन् ।

जिल्ला अदालतको आदेशमा सोमबार उनीहरु धरौटीमा रिहा भएका थिए । प्रहरीले धरौटीमा रिहा भए लगत्तै पोलिटब्युरो सदस्य उमा भुजेल, तत्कालीन झापा इन्चार्ज सुमन सिंह पौडेल र मीनप्रसाद पोखरेललाई प्रहरीले अदालतको गेट अगाडिबाट पुनः पक्राउ गरेको हो ।

उनीहरुलाई अन्य जिल्लामा समेत विचाराधीन अवस्थाका विभिन्न मुद्दा भएका कारण पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । उनीहरुलाई असार ११ गते भोजपुरबाट ल्याइएको थियो । भुजेल र पौडेललाई सुनसरी र पोखरेललाई तेह्रथुम लगिने बताइएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एक लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।

जिल्ला अदालतले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ र राज्यविरुद्ध संगठित अपराधको अभियोग मुद्दामा भुजेललाई एक लाख, सिंहलाई २० हजार र पोखरेललाई १० हजार धरौटीमा रिहा गरेको सूचना अधिकारी प्रसाईले बताए ।