धरान :मोरङका कोरोना संक्रमित ब्यक्तिको धरानमा उपचारको क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मृत्यु भएका ब्यक्ति मोरङको सुनबर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष हुन्।
ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।
एम्बुलेन्स चालकको साथमा मात्र ल्याइएको ती विरामीलाई अस्पतालले समन्वय नगरी पठाएको प्रवक्ता डाक्टर सापकोटाले जानकारी दिए ।
यो सँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ भने बुधबार मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ स्थित महोत्तरी र सप्तरीका हुन् ।