संखुवासभा :गायक तथा संगीतकार संयोगान्त कुलुङले आफ्नो २९ औं जन्मदिन खाँदबारीको बाल कल्याण गृहमा मनाएका छन् । मकालु त्रिशक्ति समुह माट्स नेपालले सञ्चालन गरेको बाल कल्याण गृहमा उनले जन्मदिन मनाएका हुन् ।
जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्र्तीमा पाइला टेकेको दिनलाई भोज भतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा सामाजिक कार्यमा कृयाशिल सिलिचोङ गाउँपालिका वडा नं. २ बालाका संयागान्त कुलुङले आफ्नो जन्मदिन बालगृहका बालबालिका र समस्यामा परेका पहिरो पिडित र उपचारत विपन्न विरामीहरुसंग मनाएका हुन् ।

बाल कल्याण गृहमा रहेका ८ बालबालिकाहरुको लागि शुद्ध पिउने पानीको व्यवस्था गर्न २१ लिटरको पानी फिल्टर र स्टेशनरी सहयोग गरेका छन् । बाल कल्याण गृह सञ्चालक समिति संयोजक सरोज श्रेष्ठलाई सामाग्री हस्तान्तरण गर्दै उन्ले केक काट्ने, भोज गर्नेभन्दा अलि फरक तरिका जन्मदिन मनाएको बताए । सामाग्री बुझ्दै संयोजक श्रेष्ठले एकदमै महत्वपुर्ण र अरुलाई समेत हौसलापुर्ण तरिकाले जन्मदिन मनाएको बताए । उनले अरुको सहयोगी दाता कै भरमा सञ्चालन भईरहेको बालगृहमा यस्ता सहयोगले अझ सहज हुने बताए ।

उनले जन्मदिनकै अवसरमा सिलिचोङ गाउँपालिका १ सिसुवाखोला बेसिन्दाका पहिरो पिडितहरुको लागि राहत कोषमा १० हजार, सिलिचोङ गाउँपालिका वडा नं. २ मुल्गाउँका विरामी हाल विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विमला राईलाई ५ हजार त्यस्तै नोवेल अस्पताल विराटनगरमा उपचार गराईरहेका सिलिचोङ गाउँपालिका १ का श्रीमति जीनता कुलुङ र श्रीमान् टिकाराम कुलुङका शिसुको उपचारमा १३ हजार रकम सहयोग गरेका छन् ।

उनले सहयोग गर्दै मनैबाट सानो सहयोग गर्न पाएकोमा खुसी रहेको बताउँदै जन्मदिन जस्ता आफ्ना विशेष दिनमा अरुलाई सहयोग गरेर मनाउन समेत सुझाएका छन् ।