विराटनगरः भ्रष्टाचार विरोधी छवि बनाएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि हिजो कार्यकक्षमै कुटपिट भएको छ । प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ करारमा रहेका कर्मचारीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुख सञ्जेलमाथि आक्रमण भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । घटना शुक्रबार दिउँसो भएको हो । आज मात्र घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालयमा अहिले सोही विषयमा छलफल भइरहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

सञ्जेलमाथि टेबुलमाथि राखिएको विभिन्न सामानले प्रहार भएको प्रहरीले जनाएको छ । दुवैजना कार्यालयका करार कर्मचारी हुन् । एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी प्रमुख खड्काले बताए ।