नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उप-प्रबन्धक (नवौँ तह) रितेश गुप्ता १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँको चेकसहित पक्राउ परेका छन् ।

गुप्ता भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरू स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरूको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरू लिएर काठमाण्डौं तर्फ गएका थिए ।

गुप्ता काठमाण्डौंतर्फ गएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ बाट शनिबार पक्राउ गरेको आयोगले जनाएको छ ।
गुप्ताका साथबाट कार्यालयका चेकहरु तथा सो कार्यालयसगँ सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।