इटहरी: साथीको विवाहमा जन्ती गएको समयमा सामान्य विवादमा छुरा प्रहार गरी हत्या गरी फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले १३ बर्ष पछी पक्राउ गरेको छ । उनीहरुलाई गत साउन २६ गते प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तत्कालीन बक्लौरी ६ का ३२ बर्षीय तुलसी चौधरी र ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा रहेकोका छन् ।

पक्राउ परेका उनीहरूले २०६४ साल बैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा सामान्य विवादमा एकम्बा गाउँ बिकास समिती ४ का सुनेर कुमार ठाकुरलाई छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

उक्त घटना पश्चात जिल्ला अदालत सुनसरीले २०७१ साउन २९ गतेको दिन चौधरीलाई कर्तव्य ज्यान मुद्धामा २१ बर्ष ६ महिना कैद सजाय र शेर्पालाई २० बर्ष कैद सजाय सुनाएको थियो ।

घटना घटाई फरार रहेका शेर्पालाई रामधुनी नगरपालिका(६ बाट र चौधरीलाई ईनरुवा नगरपालिका ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।