इटहरीः सुनसरीको भोक्राहामा २२ वर्षीय गुणराज यादवको बीभत्स हत्या गरी बोरामा बाँधेर फालिएको घटनामा उनकै साथीहरू संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका ७ बस्ने यादवको उनकै घर आसपासका साथीहरूबाट बिहीबार रातको समयमा हत्या गरी बोरामा हात(खुट्टा बाँधेर सुनसरी खोलामा फालिएको अनुसन्धानले देखाएको छ ।

भोक्राहा नरसिंह ७ मा यादवले तीन महिना अघिदेखि मोबाइल मर्मत पसल खोलेका थिए । बिहीबार ४ बजे तिर पसल बन्द गरेर घर नजिककै साथी सिवु मेहतासँग साइकलमा यादव इनरुवा बजार घुम्न आएका थिए । इनरुवाबाट घर फर्किने क्रममा थप केही साथीहरूसँग भेट भएपछि यादवसहित केहीले एक घरमा खाजा खाएका थिए । त्यसपछि यादव बेपत्ता भएका थिए ।

यादवलाई स्थानीय छिमेकी र परिवारले शुक्रवार बिहान खोज्ने क्रममा घरदेखि तिन सय मिटर पर रगतको लतपतिएको अपराध स्थल भेटाएका थिए । लगतै प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । त्यस क्रममा यादवसँगै इनरुवा गएका सिवुसहित केही युवालाई नियन्त्रण लिएर घटनाको अनुसन्धान शुरु गरिएको थियो ।

117433876_3156688217748837_7401439689227279366_o

अपराध स्थलबाट प्रहरीले डोरी, चप्पल र बास बरामद गरेको छ ।  अनुसन्धानको लागि नियन्त्रणमा लिएका युवाहरू कै सूचनाको आधारमा बेपत्ता यादवको शव शनिबार बिहान भोक्राहा नरसिंह ५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा शव भेटिएको हो ।

यादवको साथीहरूसँग खाजा खाए पश्चात् विवाद भएको बताइएको छ । के कारणले विवाद उत्पन्न भयो ? भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यादवलाई खाजा खाएको स्थलदेखि केही मिटर पर खेतमा लगेर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ । यादवलाई रातको समयमा खेतको किनारमा राखिएको पानी तान्ने पम्प सेटसँगै रहेको बासले टाउकोमा प्रहार गर्नुको साथै शरीरका विभिन्न भागमा धारिलो हतियार समेत प्रहार गरिएको छ । यस्तै उनको एउटा कान काटिएको छ भने आँखामा गहिरो चोट देखिन्छ ।

117533300_302011854559872_2629351595856100188_n

हत्यापछि यादवलाई हात खुटा बाँधेर प्लास्टिकको बोरामा हालेर राती नै सुनसरी खोलामा फालिएको अनुसन्धानले देखाएको छ ।
सुनसरी प्रहरीले हत्यामा संलग्न ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । घटनाको विषयमा गहन अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

‘शङ्कास्पद केही पक्राउ परेका छन्’ उनले भने ‘मृतकको शरीरमा धेरै चोटपटक देखिएका कारण पोस्टमार्टम रिर्पाेट कुरिरहेका छौ ।’ घटनाको सही तथ्य आउन समय लाग्ने थापाको भनाई छ ।