ईटहरीः ईटहरी २० तरहरामा संचालित एप्पल ट्रि मन्टेश्वरीका संचालक सन्तोष कटवाल लगायतको मुद्धामा ईलाका प्रहरी कार्यालय ईटहरीले आर्थिक चलखेल गरेको आरोपमा डिएसपी धर्मराज भण्डारी सहित ३ प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले २४ घण्टे लिखित स्पष्टीकरण सोधेको बिषय सार्वजनिक भएसंगै जबरजस्ती करणी उद्योगमा हाल र्पुपक्ष थुनामा रहेका कटवालको बयान डिएसपी सहितको दवावमा फेर्न लगाएको तथ्य बाहिरीएको छ ।
०७७ बैशाख २६ गते कटवालले मन्टेश्वरीमै काम गर्ने किशोरीलाई घरमा कोही नभएको बेला किताब मिलाउने बहनामा फोन गरि बोलाएर जवरजस्ती करणी गर्न खोजेका थिए ।
सो घटनामा बारे भोलि पल्ट गाँउलेहरुबाट जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय ईटहरीका मुद्धा फाँटका प्रमुख प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठ सहितको टोली घटनास्थल पुगेर मुचुल्का उठाएको थियो । मुचुल्का उठाएकै दिन दिउँसोको समयमा कट्वाललाई पक्राउ गरिएको थियो ।
तर, रातारात पैंसाको चलखेल भएको थियो ।
प्रहरी निरिक्षक श्रेष्ठको निर्देशनमा ईलाका प्रहरी कार्यालय ईटहरीमै कार्यरत सई नरेश कटवालले पैंसा लिएर सन्तोष कटवाललाइ जोगाउने खेलमा लागेका थिए । नरेश नाताले सन्तोषका आफन्त पनि हुन् । श्रेष्ठ र कटवालले गरेका फटाहीका बारेमा डिएसपी भण्डारीलाई सबै सूचना भएपनि थाहा नपाएझै नै गरेका थिए । पैंसामा सेटिङ मिलेपछि पिडित किशोरीको असहमति हुँदा हुँदै कटवाललाइ रिहा गरिएको थियो ।
कटवाललाइ रिहा गरेपछि ती पिडित किशोरी रुदै रुदै प्रहरी कार्यालयबाट बाहिरिएकी थिईन् । यी सबै घटनाका बारेमा ईलाका प्रहरी कार्यालय ईटहरीका मुद्धा फाँटका केही प्रहरीहरुले नजिकबाट नियालेका थिए ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट कटवाललाई रिहा गरेको ११ दिनपछि तरहरा र ईटहरीका महिला अधिकारकर्मीहरुको सम्र्पकमा ती पिडित किशोरी आएकी थिईन् । आफन्तको घरमा बसेकी ती किशोरीले अधिकारकर्मीहरुलाइ घटनाका बारेमा र प्रहरीले पैंसाको चलखेलमा आफुलाइ अन्याय गरेकाले न्यायका लागि साथ दिन आग्रह गरेपछि उनलाइ लिएर अधिकारकर्मीहरुको टोली ईलाका प्रहरी कार्यालय ईटहरी पुगेको थियो । पिडित लिएर ईलाका प्रहरी कार्यालय ईटहरी पुगेको अधिकारकर्मीको टोलीलाइ मुद्धा दर्ता गर्न हम्मे हम्मे नै परेको थियो ।
निकै ठूलो संघर्षपछि जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ताका लागि निवेदन लिएको  ईलाका प्रहरी कार्यालय ईटहरीले दुइ दिनपछि मात्र दर्ता गरेको थियो । पिडित किशोरीसंग प्रत्यक्ष महिला सेलकी हबल्दार यसोदा कार्कीले कुराकानी गरेपछि मुद्धा अभद्र व् यहार नभइ जवरजस्ती करणी उद्योगमै दर्ता गर्नु पर्ने अडान लिएकी थिइन् । मुद्धा फाँटमा कार्यरत अन्य प्रहरीले पनि घटना संवेदनशिल भएकाले जवरजस्ती करणी उद्योगमै दर्ता गर्नु पर्ने नगरे विद्यानन्द माझीको हालत हुने सबै जना कार्वाहीको मागिदार हुने बताएपछि प्रहरी निरिक्षक श्रेष्ठले मेरो के जान्छ गरिदेउ भन्दै पन्छिएका थिए ।
मुद्धा दर्ताका लागि निवेदन लिनुअघि सन्तोषका नाताले आफन्त पर्ने सइ नरेश कटवालले महिला सेलकी हबल्दार(हाल राजिनामा दिएकी) यसोदा कार्कीलाइ मोबाइमा फोन गरेर सन्तोष मेरो आफन्त हो, जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता नगरिदिन भन्दै दवाव दिएका थिए । कार्कीले घटनाको प्रकृति हेर्दा र पीडित किरोशीको पिडा हेर्दा अन्य नभइ जवरजस्ती करणी उद्योगमै मुद्धा दर्ता हुन्छ , तपाइ मलाइ भन्दा पनि मानप्रसाद श्रेष्ठ साबलाइ फोन गरेर भन्नुहोस् भन्ने जवाफ दिएकी थिइन् ।
पिडितको निवेदन लिएको २ दिनपछि ०७७ जेष्ठ १३ गते जवरजस्ती करणी उद्योगमा सन्तोष कटवाल विरुद्ध मुद्धा दर्ता गरिएको थियो । मुद्धा दर्तापछि नरेश कटवाल मार्फत सन्तोषका बुबामार्फत लिएको ५ लाख रुपिया फिर्ता गरिएको ईलाका प्रहरी कार्यालय ईटहरी स्रोतको दावी छ ।

रातारात फेरियो बयान
आफ्नै मन्टेश्वरी स्कुलमा कार्यरत एक महिला कर्मचारीलाइ जवरजस्ती करणी गर्न खोजेको आरोपमा संचालक सन्तोष कटवालाइ केही दिन थुनामा राखेपछि मुद्धा फाँट प्रहरी अनिल विक सहितको टोलीले जिल्ला अदालत पेश गर्नुअघि घटनाका बारेमा बयान लिएका थिए । बयानका क्रममा मुद्धा फाँटका प्रहरी सामु कटवालले आफुबाट गल्ती भएको स्वीकार गरेका थिए । सोही अनुसार उनिहरुले कटवालको बयान तयार गरेका थिए । कटवालको बयान र पिडितको निवेदनका आधारमा मुद्धा फाँटका प्रहरीले सरकारी वकिल मार्फत जिल्ला अदालत सुनसरी पेश गर्नका लागि सबै कागजात तयार पारेका थिए । कटवालले गल्ती स्वीकार गरेको बयान तयार भएको चालपाएपछि सई नरेश कटवालले डिएसपी भण्डारी र श्रेष्ठलाइ सबै कुरा सुनाएका थिए । त्यसपछि डिएसपी स्वय्म महिला सेल र मुद्धा फाँटमा आएर व्यङ्गात्मक शैलीमा गाली गरेका थिए । त्यस लगत्तै नरेशले बयान लेख्ने विकलाई भेटेर तिम्रो र मेरो के दुश्मन थियो र यस्तो बयान तयार गरेको भन्दै थर्काएका थिए । विकले पिडक सन्तोषले नै बयानका क्रममा गल्ती स्वीकार गरेकाले आफुले सोही अनुसार बयान तयार गरेको जवाफ दिएका थिए । मुद्धा कमजोर बनाइ सन्तोषलाइ धरौटीमा छुटाउनका लागि जवाफमा नरेशले यस्तो बयानले मेरो मान्छेलाइ धेरै सजाय हुन्छ , परिर्वतन गर्नु भन्ने निर्देशन छ, सोही अनुसार गर्नु भनेका थिए । विकले फेरी बाध्य भइ सन्तोषको बयान परिर्वतन गरि आफुले कर्मचारी किशोरीलाइ कुनै पनि खालको नराम्रो कार्य नगरेको भन्ने बयान तयार गरिएको थियो ।
प्रहरीले आर्थिक चलखेलमै सुरुवातबाटै मुद्धा कमजोर बनाउन अनेकखालका चलखेल गरेपनि पिडितको पक्षबाट प्रमाणका आधारमा जिल्ला अदालत सुनसरीमा सरकारी वकिल सहित ५ जनाले बहस गरेका कारण कटवाल पुर्वपक्षमा लागि थुनामा गएका थिए । जिल्लाको निर्णय बदर गराउन माग सहित उच्च अदालत विराटनगरसम्म कटवालका परिवार पुगेका छन् । हाल उच्चमा सो मुद्धा विचराधिन अवस्थामा छ । कोरोनाका कारण अदालत पूर्ण रुपमा संचालनमा नआएकाले मुद्धा उपर कुनै निर्णय हुन सकेको छैन् । सुरक्षाको हिसाबले पिडित किशोरीलाइ महिला हिंसा विरुद्ध कार्यरत एक संस्थाको सेफहाउसमा राखिएको छ ।

पत्रकारलाइ सूचना दिएको आरोपमा महिला सेलकी हबल्दार सहित ४ प्रहरीमाथि एक्सन
सन्तोष कटवालको घटनामा मुद्धा दर्ताका लागि आवश्यक सहयोग र पत्रकारलाइ सबै सुचना दिएको भन्दै महिला सेलकी हबल्दार यसोदा काकीलाइ मुद्धा दर्ता भएको तेस्रो दिनै डिउटीमा फिल्ड खर्टाइएको थियो । गर्भवती समेत रहेकी कार्कीलाइ उनले आफ्नो अवस्था बारे बताउदा बताउँदै पनि जवरजस्ती फिल्डको डिउँटीमा खटाइको थियो ।
सन्तोष कटवालका आफन्त सइ नरेश कटवालले यसोदाको अधिकारकर्मीसंग पहिलादेखि चिनजान रहेको र सबै सुचनापनि दिएर सबै कुरा बिगारेको भन्दै डिएसपी भण्डारीलाइ पोल लगाएका थिए । नरेशको कुरा सुनेर भण्डारीले मानप्रसाद श्रेष्ठसंग सल्लाह गरि यसोदालाइ डिउँटीमा खटाउने र नमाने उनको दरबन्दी रहेको तेह्रथुम नै पठाउने योजना अनुसार उनलाइ तेह्रथुम नै पठाउने गरि पत्र तयार गरेका थिए । उनि तत्काल आफ्नो अवस्था तेह्रथुम जाने नभएकाले हारगुहार माग्दै प्रदेश प्रहरी कार्यालय विराटनगर आफ्नो समस्या राख्न गएकी थिइन् । उनले घर पाहेक जही राखिदिए हुने बताएपनि सो कार्यालयबाट खासै चासो नराखेपछि बाध्य भइ जिल्ला प्रहरी कार्यालय सुनसरीमा राजिनामा पत्र दिएकी थिइन् । उनको राजिनामा पत्र स्वीकृत भइ सकेको छ ।
यसोदा काकीलाइ मात्रै होइन् , मुद्धा फाँटमा इमान्दार भएर काम गर्ने प्रहरी हबल्दार लक्ष्मण बोगटीलाइ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी पठाउने काम भयो । प्रहरी जवानद्धय गोविन्द मान श्रेष्ठ र मोहन खत्रीलाइ ईलाका प्रहरी कार्यालय पकली पठाउने काम भयो । उनिहरु ती कार्यालय पठाउँदा नियमित सरुवा भन्ने काम भयो । तर, मुख्य कारण सन्तोष कटवालको घटनामा महिला सेलकी हबल्दार कार्कीलाइ सेटिङ अनुसार कार्य नगरेको भन्नै कारण रहेको प्रहरी स्रोतको भनाई छ । यी सबै घटनाक्रमका प्रमाणहरुको अडियो नै प्रदेश पोर्टललाइ प्राप्त भएको छ । उनिहरुलाइ सरुवा गरिएपछि हाल आफु अनुकुलका प्रहरीहरुलाइ मुद्धा फाँटमा राखिएको छ ।