इटहरी :प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासन कार्यालयले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक निषेधित क्षेत्र घोषणा गरेको थियो । पछिल्लो पटक थपिएको समय सीमा आइतबार (आज) राती १२ बजे सकिदैं छ । तर प्रशासन कार्यालयको आज बसेको बैठकले थप ७ दिन थप्ने निर्णय गरेको हो । जिल्ला भित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र, धरान लगायत स्थानीय बजारमा कोरोनाको संक्रमण बढ्दै गएपछि साउन ३२ गते राति १२ बजे देखि लागू हुने गरी भदौं ७ गते राती १२ बजे सम्म निषेधित्र क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले उक्त समय अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्याबश्यक सेवाका कर्मचारीले कार्यालयको काममा हिड्डुल गर्न पाउने बताए । कर्मचारीले कार्यालयको काम गर्न पाउने भने तर सेवाग्राही सगँ प्रत्यक्ष सरोकारको काम बन्द गर्ने समेत प्रजिअ पोखरेलको भनाई छ । यस्तै सरकारी नम्बर प्लेटका सवारी साधन, अत्याबश्यक सेवाका सवारी साधन, ढुवानीका साधन बाहेक अन्य सबै सवारीसाधनहरुको आवागमन बन्द गर्ने कार्यालयले जनाएको छ ।

यस्तै ओद्योगिक क्षेत्रका उद्योग प्रष्तिठानहरुले स्वास्थ्य प्रोटोकल पालना गरी संञ्चालन गर्न पाउने छन् ।
उल्लेखित नियम उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम सजाय हुने समेत कार्यालयले जनाएको छ ।