इटहरीः इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कर्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई मन्टेश्वरी सञ्चालक सन्तोष कटवालले जबरजस्ती करणीको प्रयासको घटनामा आर्थिक लाभ लिएर मुद्दा दर्ता गर्न ढिलाइ गरेको लगायतका विषयमा इटहरी प्रहरीले आर्थिक चलखेल गरेको तथ्य बाहिरिएपछि प्रदेश र सङ्घीय प्रहरी कार्यालयबाट छानबिन समिति गठन भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुखसहित तीन प्रहरीलाई जबरजस्ती करणी लगायतको मुद्दामा आर्थिक लाभ लिएको आरोप लागेपछि हिजो छानबिन समिति गठन भएको हो । समितिले आजबाटै काम थालेको छ । समितिका पदाधिकारीहरु अहिले इलाका प्रहरी कार्यालय इटहरीमा आइपुगेको छ ।
एप्पल ट्रि« मन्टेश्वरीमा कर्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई मन्टेश्वरी सञ्चालक सन्तोष कटवालले जबरजस्ती करणीको प्रयासको घटनामा आर्थिक लाभ लिएर मुद्दा दर्ता गर्न ढिलाइ गरेको लगायतका विषयमा इटहरीका डिएसपी धर्मराज भण्डारी, मुद्दा शाखाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ र महिला सेलकी प्रमुख सई कृष्ण अधिकारीमाथि छानबिन गर्न दुईवटा समिति गठन भएको हो ।
इटहरी प्रहरीका प्रमुखसहित अन्य प्रहरी अधिकृतलाई आरोप लागेपछि छानबिन गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र सङ्घीय प्रहरी ईकाई कार्यालय धरानको छुटाछुटै समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।
दुईवटा समिति भएपनि संयुक्त रूपमा छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ । छानबिन समितिको संयोजक भने जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा छन् ।
इलाका प्रहरी कार्यालय इटहरीको मुद्दा शाखाले करणीको आरोपी कटवाल विरुद्धको जाहेरी घटना भएको १७ दिनपछि मात्र दर्ता गरेको थियो । यस घटनामा इटहरी प्रहरीले पाँच लाख नगद लिएको र पछि मुद्दा दर्ता गरेपछि उक्त रकम फिर्ता गरेको गम्भीर आरोप छ ।
यस्तै इटहरी ९ को रिभर साइड रिर्सोटमा छापा हानि ६ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको घटनामा पनि इटहरी प्रहरीले आर्थिक चलखेल गरी ६ जनालाई छाडेको, इटहरी २० मा झगडा हुँदा ट्याक्टरले किचेर मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई प्रतिवादी नबनाउने भनेर रकम माग गरिएको लगायतका विषय छन् ।
मुद्दा शाखाबाट आर्थिक रकम लिएका थप पीडितहरू सम्पर्कमा आउन थालेपछि प्रहरीले यसको वास्तविकता बुझ्न छानबिन समिति गठन गरेको बताइएको छ । छानबिन टोलीले आरोपित प्रहरीको बयान, कटवाल प्रकरणको मुद्दा फायलको अध्ययन, आर्थिक रकमको विषयमा प्रमाणहरू सङ्कलन गर्ने आदी कामहरु गर्ने जनाइएको छ ।
घटनाको विषयमा यस अघिनै जिल्ला प्रहरी कार्यालय सुनसरीले तीनै जना प्रहरीलाई लिखित स्पष्टीकरण सोधिसकेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले इटहरी प्रहरीको विषयमा छानबिन भइरहेको जानकारी दिए ।
‘सञ्चारमाध्यममा आएका विषय बस्तु प्रति हाम्रो चासो भएको हो’ उनले भने ‘औपचारिक र अनौपचारिक रूपमा बुझ्ने अनि छानबिनिको काम भइरहेको अवस्था छ ।’व्