धनकुटाः धनकुटामा ५ दिनको अन्तरमा दुई बालिका बलात्कृत भएका छन् । बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा दुवै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–८ की १० वर्षीया बालिकालाई ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा सोही स्थानका २२ वर्षीय दुल कुमार राईलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
साउन ३१ गते दिउँसो बलात्कार गरी फरार रहेका राईलाई पीडितको आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा खोजतलास गरी पक्राउ कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ । राई विवाहित हुन् । उनको एक जना बच्चा रहेको छ ।
त्यस्तै धनकुटा नगरपालिका–२ की एक १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–१ का १९ वर्षीय निकेश तामाङ (तितुङ) लाई पनि प्रहरीले पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरेको छ ।
साउन २७ गते बालिकालाई बलात्कार गरी फरार रहेका तामाङलाई भदौ ३ गते पक्राउ गरी आवश्यक कारवाही अगाडी बढाएको एसपी अधिकारीले बताए । घटना पश्चात् फरार भई विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका तामाङलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धानको लागि अदालतबाट एकहप्ताको म्याद थप गरेको छ । उनलाई पीडितको आफन्तले दिएको उजुरीको आधारमा खोजतलास गरी पक्राउ गरेको थियो ।