ईटहरीः साथीहरुसंग घुम्न घरबाट निस्केका सुनसरीको भोक्राहका २२ वर्षीय गुणराज यादव हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले प्रहरीको समर्थनमा बिहिबार नाराबाजी गरेका छन् । भोक्राह गाउँपालिका ७ का गुणराजको गत साउन २९ गते पाँच जनाको समूहले बीभत्स हत्या गरी बोरामा शव हालेर सुनसरी खोलामा फालिएको थियो ।
घटनामा गुणराजकै गाउँका दिनेश महतो, पप्पु राम, दीपक यादव, प्रदीप राम र शिव कुमार मेहता संलग्न भएका थिए । बुधवार गाउँमा घटनाको थप अनुसन्धानको क्रममा सर्च गर्न पुगेको प्रहरी टोलीलाई सम्मान गदै स्थानीयले नाराबाजी गरेका हुन् ।
सुनसरी प्रहरीको सफल अनुसन्धान प्रति गाउँलेले जयजय कार गरेका थिए भने दोषीलाई कडा सजाय दिन माग गरे । गाउँलेहरूले सुनसरी प्रहरी प्रमुख कमल थापा र घटनाको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सरोज खनालको नाम लिएरै जयजय कार गरेका थिए ।
यादवको हत्या विषयमा थप अनुसन्धानको क्रममा सुनसरी प्रहरीले सो क्षेत्रका केही घरमा हिजो सर्च गरेको छ ।
सोही घटनाको थप अनुसन्धानको क्रममा नरसिंह पुगेको सुनसरी प्रहरीको टोलीले स्थानीयका केही घरमा खानतलासी गरेको हो ।

img-20200820-wa0013
स्थानीयका अनुसार प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ । केही भने फरार भएका छन् । सोही क्रममा घटनाको अनुसन्धान र हत्यारा पक्राउ गरेको विषयलाई लिएर कडा कार्वाहीको माग सहित नाराबाजी गरिएको उनीहरुको भनाई छ ।
प्रहरीले सर्च गरिरहँदा सडकमा भेला भएका स्थानीयले गुणराजको हत्यारालाई कडा कार्वाही गरिनु पर्ने माग गरेका थिए । उनीहरुले प्रहरी अनुसन्धानमा बाधा पु¥याउन खोज्नेलाई समेत कार्वाहीको दायरामा ल्याइनु पर्ने बताए ।
साउन २९ गतेबाट वेपत्ता रहेका गुणराजको शव सुनसरी खोलामा साउन ३१ गते फेला परेको थियो । पक्राउ परी अदालतबाट म्याद थप गरिएका दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दिपक कुमार यादव र प्रदिप रामले बयानका क्रममा हत्या स्वीकार गरिसकेका छन् । सुनसरीका प्रहरी प्रमुख कमल थापाले घटनाको गहिरो अनुसन्धान जारी राखेको जानकारी दिए ।