विराटनगरः विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले १० भदौसम्म निषेधाज्ञा जारी गरेको छ । आज रातिबाट लागू हुनेगरी विराटनगरमा निषेधाज्ञा जारी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिएका छन् ।
विराटनगरमा शुक्रबारसम्म ७७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भइसकेको छ । संक्रमण दर बढेपछि १६ साउनबाट विराटनगर लकडाउनमा छ । दोस्रो चरणमा थप गरेको एकसाता लामो लकडाउन अन्त्य भएसँगै महानगरपालिकाले निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । स्थानीय सरकारको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिका भित्र १० भदौं रातिसम्म निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विराटनगर महानगरपालिका सबै वडा, कटहरी, रंगेली र बुढीगंगा गाउँपालिकाका केही वडामा शुक्रबार राति १२ बजेदेखि १० भदौं राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन । विराटनगर महानगरपालिकाका सबै वडासँगै रंगेली नगरपालिकाका ४,५,६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडा र बुढीगंगा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरेको मोरङ प्रशासनले जनाएको छ ।