विराटनगरः प्रहरीको सर्वाधिक खोजीको (मोस्ड वान्टेड) सूचीमा अपराधी बग्गालार्ई मोरङ प्रहरी पक्राउ गर्न सफल भएको छ । नेपाल प्रहरीले निकै लामो समयदेखि बग्गालाई खोजी गरिरहेको थियो । उनि भारतमा बसेर नेपालमा हातहतियारको कारोबार गर्थे । लागूऔषधको समेत सञ्जाल उनले नेपालका बिभिन्न स्थानमा फैलाएका थिए । हातहतियार खरखजाना र लागुआौषधधको मुद्दाका फरार प्रतिवादी रहेका उनलाई मोरङको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बग्गा अर्थात प्रदिप यादवले भारतमा बसी नेपालको १ नं प्रदेश तथा २ नं प्रदेशका विभिन्न जिल्लामा अबैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले भने,“आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके उनै थिए । उनि भारतको बिहार राज्य अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा हुन ।
उनि नेपाल वारिपारि गर्दै अपराधिक गिरोह चलाउँथे ।” वर्ष ३९ को बग्गालाई प्रहरीको टोलीले शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरेको राईले बताए । उनको साथबाट डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषध समेत बरामद भएको छ ।
बग्गाको अपराध श्रृंखला
बग्गा २०७५ मंसिर ०३ गते अपरान्ह ५ उदयपुर उदयपुरगढी गाँउपालिका वडा नं १९ को मन्दिप तामाङलाई अमेरिकामा बनेको अटोमेटिक पेस्तोल र सोको केएफ ७ लेखिएको गोली थान ४,सुनसरी दुहवी नगरपालिका वडा नम्बर ५ हाल ईटहरी उ.म.न.पा. वडा नं १२ खनार बस्ने वर्ष ३५ को सुशील कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपाल तर्फ पठाएकोका थिए ।
मन्दिप तामाङ र सुशील कुमार साहुलाई विराटनगर १६ स्थित हुलास मेटल चौकबाट पक्राउ परेका थिए । हातहतियार तथा खरखजना सम्बन्धीको सो मुद्दामा हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाईके बग्गा भन्ने प्रदिप यादव रहेको खुलेको थियो ।
यसैगरी २०७५ मंसिर ८ गते बग्गाले नै विराटनगर १६ बस्ने वर्ष २२ को बिध्यानन्द मण्डल र सोही ठाउँको वर्ष २० को अनुप गिरीलाई ३८० एम्पुल लागूऔषध , १०५ ग्राम ११० मिलीग्राम ब्राउन सुगर लागू औषध शरीरमा टेपले बाधी, कटुवा पेस्तोल र ओके९२७जेड लेखिएको गोली दुई राउन्ड सुनसरी धरान घर भई जिल्ला ललितपुर उपमहानगर ४ एकान्तकुनामा डेरा गरी बस्ने वर्ष ४१ को रुपम राईलाई विराटनगरस्थित बसपार्कमा दिन भनी पठाएका थिए । त्यो घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ गरेको थियो ।
त्यो घटनाका नाईकेसमेत प्रदिप यादव बग्गा नै रहेको खुल्न आएपछि प्रहरीले उनलाई अधिक खोजीको सूचीमा राखेर निगारनी गरिरहेको थियो । उनी विराटनगर सीमा कटेर नेपालफर्त आई कारोबार गर्दैछन् भन्ने सूचनाको आधारमा उनि पक्राउ परेको प्रहरीको भनाई छ । ।