उदयपुरः विशेष सुचनाको आधारमा नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उदयपुरमा ठूलो परिणाममा गाँजा सहित दुई जनालाई विहिबार विहान ५ बजे पक्राउ गरेको छ । उनिहरुलाई उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीबाट ४ बोरामा अन्दाजी ८४ केजी गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका १ ओख्लेका २९ वर्षिय जयराम भन्ने पुष्पबहादुर मगर र सोही पालिका वडा नं. ३ इनामेका ४३ वर्षिय रामबहादुर तामाङलाई विशेष सुचनाको आधारमा पक्राउ परेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । गाँजा ओसारपोसारमा अन्य पनि संलग्न भएकोले चाँडै पक्राउ पर्ने एसपी दाहालले बताए ।
उनीहरुको साथबाट अवैध गाँजा सहित एक थान कुकुरी पनि बरामद भएको छ । पक्राउ पर्नेमा मगर चालक हुन भने तामाङ खसी व्यपारी हुन् ।
उनीहरुले ताप्ली गाउँपालिकाका एरियाबाट गाँजा संकलन गरी उदयपुरगढीको बाटो हुँदै भारततर्फ लैजान लागेको विशेष सूचनाको आधारमा नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको एसपी दाहालले बताए ।
विशेष सूचनाको आधारमा ३ दिनपछि ९ घण्टाको अप्रेशन पछि उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीका सन्तबहादुर तामाङको बाख्राको खोरमा लुकाई छिपाई रहेको अवस्थामा पक्राउ पर्न सफल भएको नेपाल सशस्त्र प्रहरी बल ५ नं. गणका प्रमुख सुधिर सुवेदीले बताए ।
पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्साल लगायतको उपस्थिति रहेको थियो ।