इटहरीः निगुरो टिप्न घर नजिकैको जंगल गएकी मोरङको बेलबारी–११ १६ वर्षीया एक दलित बालिका बलात्कृत भएकी छन् । उनि माथि मङ्गलबार अपरान्ह ४० वर्षीय होम तामाङले बलात्कार गरेका हुन् । छिमेकी बालबालिकासँग उनी निगुरो टिप्न जंगल गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका अनुसार तामाङले बालिकासँग रहेका अन्य बालकहरूलाई नियन्त्रणमा लिएर ती दलित बालिकालाई बलात्कार गरेका थिए ।

नियन्त्रणमा लिएका बालकहरूलाई पालैपालो बालिकामाथि बलात्कार गर्न लगाएर उनले पनि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इन्स्पेक्टर ढकालले बताए । अन्य बालकहरू पनि दलित समुदायकै रहेको ढकालले जानकारी दिए । ती बालकहरू ११ देखि १३ वर्षसम्मका छन् । तामाङले डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नातासम्बन्धकी बालिकामाथि बलात्कार गर्न लगाएपछि आफूले पनि बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरिक्षक ढकालले बताए ।

प्रहरी निरिक्षक ढकालका अनुसार बालकहरूले अस्वीकार गरेपछि हातमा लाठी लिएर तामाङले ज्यान लिनेसम्मको धम्की दिएको अनुसन्धानमा खुलेको छ । आफूमाथि धम्की आएपछि डरका कारण बालबालिका चुपचाप तामाङले भनेअनुसार गर्न र घटना सहन बाध्य भएको उनाले जनाए । बालकहरूलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरूकै अगाडि बालिकालाई बलात्कार गरेको पत्ता लागेको प्रहरी निरिक्षक ढकालले बताए ।

घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरूसँग पनि सोधपुछ गरिरहेको छ । प्रहरी निरिक्षक ढकालका अनुसार तामाङले धम्की दिएर आफूहरूलाई यस्तो कार्य गर्न लगाएको बालकहरूले बताएका छन् । घटनापछि चारै जना डराएका छन् । राम्ररी कोहीसँग पनि बोल्न नमानेको प्रहरी निरिक्षक ढकालले बताए । ढकालका अनुसार उनीहरू सबै मानसिक रूपमा विक्षिप्त जस्तो देखिन्छन् । कोही नयाँ मान्छे देख्दा केही गरिहाल्छन् कि जस्तो मानिरहेका छन् ।

घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्रलोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको बालिकाले प्रहरीलाई बताएकी छन् । शरीरका केही भागमा चोटसमेत लागेकी बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बिहीबार विराटनगरको कोशी अस्पताल लगिएको प्रहरी निरिक्षक ढकालले जानकारी दिए ।