संखुवासभाः संखुवासभा जिल्लामा आज राती १२ बजे देखि १८ गते सम्म निषेधाज्ञा गर्ने निर्णय भएको छ । शुक्रबार बसेकोे जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समितिको बैठकले उक्त निर्णय गरेकोे प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद आचार्यले बताए ।
बैठकले जिल्लामा हुने सम्पुर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनार माथि प्रतिबन्ध लगाएको छ भने दैनिक हुने नित्य पुजा बाहेकका सम्पुर्ण धार्मिक कार्यमा नगर्न भनेको छ । सम्पुर्ण होटल, रेस्टुराँ, शैलुन, व्युटी पार्लर बन्द हुने जानकारी आचार्यले दिएका छन् ।
यस्तै हाटबजार पनि बन्द हुनेछ भने सरकारी कार्यालयहरुले, सार्वजनिक संस्थाहरुले विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्ने र उपस्थिती भएरै सेवा प्रवाह गर्नुपर्ने भए भिडभाड नहुने गरि गर्नुपर्ने बैठकले निर्णय गरेको छ । अत्यावश्यक बाहेकका मात्र सवारी सञ्चालन गर्न पाईने आचार्यले बताए ।
आचार्यले भने सुचनाको उल्लघंन गरेको पाईएमा संक्रामक रोग ऐन, २०२० र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।
संखुवासभामा हालसम्म १५ जनामा कोरोना संक्रमण भईसकेको छ । संक्रमित मध्ये ५ जना निको भएर घर फर्किएका छन् भने १० जनाको खाँदबारीको हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आईसोलेसनमा उपचार भईरहेको छ ।