बेलबारीः मोरङको बेलबारीमा मदिरा सेवन गर्दा भएको विवादलाई लिएर भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ । बेलबारी ५ कसेनी स्थित लोहन्द्रा खोलामा २ समूह बीच ग्याङ फाइट भएको हो । शुक्रबार दिउँसो भएको ग्याङ्ग फाइटमा बेलबारीका चन्द्रकुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । । खुकुरी प्रहार गरि घाइते भएको राईको मोरङको बुढीगंगा गाउँपालिका २ टंकिसनवारीस्थित विराट टिचिङ हस्पिटलमा शुक्रबार ३ः१० मा मृत्यु भएको ढकालको भनाइ छ ।
घटनामा परि घाइते भएका एक जना युवाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । स्थानीय दिनेश श्रेष्ठको समूहले खुकुरी प्रहार गरि ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुन्द्र राई, १६ वर्षीय गौरव राई घाइते भएका छन् । उनीहरूको उपचार बिराट टिचिङ हस्पिटलमा भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ढकालले बताए ।
प्रहरीका अनुसार बिहीबार साँझ दुवै पक्षबीच मदिरा सेवन गरि सामान्य वादविवाद भएको रहेछ । त्यहि विवादको कारण शुक्रबार विहान बेलबारी ५ कसेनीको पुलमा ग्याङ्ग फाइट भएको थियो । बेलबारी ५ कसेनी स्थित लोहन्द्रा पुलमा सोही ठाउँका ३२ वषीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगरले धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने जितेन चौधरी समेत घाइते छन् । उनको पनि उपचार भइरहेको छ । धारिलो हतियार प्रहरीले बरामद गरेको छ । घटनमा संलग्न तीन जना फरार छन् । फरार हुनेहरू दिनेश श्रेष्ठ, बिक्रम राई र सन्तोष मगर हुन् । आक्रमण गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ढकालको नेतृत्वको टिमले फरार भएकाहरूको खोजी कार्य तीब्र बनाएको छ ।