खोटाङः समाचार सङ्कलन गर्न निर्माणस्थल पुगेका खोटाङका चार पत्रकारमाथि दिक्तेल बजारका स्थानीय बासिन्दाले हातपात गरेका छन् । सडक ढलानको काम भइरहेको दिक्तेल बजारस्थित रत्नपार्कमा शनिबार साँझ समाचार सङ्कलनमा पुगेका पत्रकार सञ्जिव राई, राजन ठटाल, दिवस रिजाल र सन्तोष पौडेलमाथि स्थानीय बासिन्दा केशव दाहाल र राजु श्रेष्ठले हातपात गरेका हुन् ।
रत्नपार्कस्थित किराँतचोकमा भइरहेको सडक ढलानको भिडियो खिचिरहेको अवस्थामा दाहाल र श्रेष्ठले आफूहरुमाथि स्थानीय बासिन्दाको गुनासो नसुनी नगरपालिका र ठेकेदार कम्पनीको मात्र कुरा सुनेर समाचार बनाएको आरोप लगाउँदै हातपात गरेको पीडित पत्रकारको भनाइ छ । स्थानीय बासिन्दाले आफूहरुमाथि हातपात गरिरहँदा ड्युटीमा खटिएका प्रहरी प्रत्यक्षदर्शी भएर हेरिरहेको पत्रकारहरुले बताएका छन् ।
स्थानीय बासिन्दाले हातपात गरेको विषयमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियालाई जानकारी गराउँदा लिखित उजुरी आएपछि मात्र पक्राउ गर्ने प्रतिक्रिया दिएको पत्रकार सञ्जिवले बताएका छन् । “केशव दाहाल र राजु श्रेष्ठले हामीमाथि सार्वजनिकस्थलमै हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको छ”, उनले भने, “घटनास्थलबाटै जानकारी गराउँदा प्रहरीले आनाकानी गरेपछि तल्कालै प्रहरीमा गएर ठाडो उजुरी दिएका छौँ ।”
यस विषयमा हलेसी खबर डटकमले प्रहरी नायब उपरीक्षक चिमोरियालाई सोध्दा पीडित पक्षले उजुरी दिएपछि मात्र पक्राउ गर्न मिल्ने प्रतिक्रिया दिएका छन् । “फोनमा भनेको आधारमा कसैलाई पनि पक्राउ गर्न मिल्दैन”, उनले भने, “कार्यालयमा आएर लिखित उजुरी दिएपछि छानविन गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउछौँ ।”
आफूहरुले प्रहरी कार्यालयमा पुगेर दोषीमाथि कारवाहीको मागसहित उजुरी दिएपनि प्रहरीले दोषीलाई पक्राउ गर्न चासो नदिएको पीडित पत्रकारहरुले बताएका छन् । पत्रकारले दिएको उजुरी बुझ्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
यता, प्रहरीमा उजुरी दिएपछि हातपात गर्नमा संलग्न दाहालका छोरा सुराजन दाहालले फोन गरेर धम्क्याउन थालेको पत्रकार ठटालले बताएका छन् । सुराजनले आफू बिग्रिएको मान्छे भन्दै जे पनि हुन सक्ने धम्की दिएको पत्रकार ठटालले बताए ।
पत्रकार राई रुपाकोट साप्ताहिकका सम्वाददाता तथा केडिसी अनलाईन टिभीका सञ्चालक, पत्रकार ठटाल एभिन्यूज टेलिभिनका सम्वाददाता, पत्रकार रिजाल इमेज टेलिभिजन र पत्रकार पौडेल जन्तेढुङ्गा साप्ताहिकका सम्वाददाता तथा मध्यान्ह राष्ट्रिय दैनिकका खोटाङ सम्वाददाता रहेका छन् । उनीहरु चारैजना प्रेस सङ्गठन नेपाल खोटाङका जिल्ला सदस्य हुन् ।