इटहरी / जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको छ । इलामको चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो ।
उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ ।