भोजपुर: भोजपुरको पौवादुङमा गाउँपालिका भित्र थप ७ जनामा कोरोना भाईरस आरडिटि रिपोर्ट पोजेटिभ देखिएको छ । बुधबार गाउँपालिका भित्रका २० जनामा गरिएको परिक्षणमा ७ जनामा पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

गत मंगलबार पनि सोही गाउँपालिका भित्र २६ जनाको आरडिटि गर्दा ९ जनामा पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका १६ जनाकोे स्वाब परिक्षणका लागि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाई सकिएको गाउँपालिकाले जनाएको छ । पालिकाका ५ वडामा यति धेरै जनामा पोजेटिभ देखिएपछि अहिले गाउँपालिका सिल गरिएको छ ।

उक्त १६ जनालाई वडा नम्बर एक स्थित राधाकृष्ण माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको छ । पोजेटिभ देखिएका अधिकाशं स्थानीयबासी छन् भने अन्य स्वास्थ्यकर्मी र जनप्रतिनिधि समेत रहेको पालिका अध्यक्ष राईले जानकारी दिए ।

यो पनि: ९ जनाको आरडिटि पोजेटिभ,भोजपुरको पौवादुङमा गाउँपालिका सील