इटहरीः बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका इटहरी २० तरहरामा संचालित एप्पल ट्रि मन्टेश्वरीका संचालक सन्तोष कटवाललाई र्पुपक्षका लागि थुनामा राखेर आवश्यक कानूनी कार्वाही अगाडी बढाउन जिल्ला अदालत सुनसरीले आदेश गरेको छ ।
आज जिल्ला अदालत सुनसरीको १ नम्बर बेञ्चमा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिश अर्जुन कोइरालाको एकल इजालासले कटवाललाई कारागारमा थुनामा राखि आवश्यक कानूनी प्रकृया अगाडी बढाउन आदेश गरेको जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका अधिवक्ता गोकुल निरौंलाले जानकारी दिएका छन् ।
पीडित युवतीको तर्फबाट सरकारी वकिलद्धय गोकुल निरौंला, अनिल रेग्मीले बहस गरेका थिए । त्यसैगरि पीडित युवतीकै तर्फबाट अधिवक्ता, परिचय अधिकारी, अश्विनी भट्टराई र निराजन ओझाले पनि बहस गरेका थिए ।
पीडक कटवालको तर्फबाट अधिवक्ता केदार भण्डारीले मात्रै बहस गरेका थिए । भण्डारी नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव समेत हुन् ।
कटवालले आफ्नै मन्टेश्वरीमा लेखापालका रुपमा कार्यरत १९ बर्षीय युवतीलाई २६ बैशाखमा आफ्नो घरमा कोही नभएको मौका पारी किताव मिलाउने बहाना बनाएर बोलाई बलात्कारको प्रयास गरेका थिए । उनले सो दिन घरमै ती युवतीलाई ३ पटकसम्म बलात्कार प्रयास गरेपनि उनले प्रतिकार गरि भाग्न सफल भएकी थिइन् ।
घटना भएको भोलिपल्टै ती युवतीका दाजु सहित उनिहरु बीच मकै बारीमा घटना बारे विवाद भएको थियो । घटनाका बिषयमा स्थानीयले जानकारी पाई प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कटवाललाई २७ बैशाखमा पक्राउ गरेको थियो । तर, भोलिपल्टै पीडित युवतीको निवेदन लिनुको साटो युवतीलाई मानसिक तनाव दिएका थिए ।
घटना स्थलको प्रकृति मुचुल्का उठान गएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले पीडितको निवेदन नलिई उल्टै नानाथरी कुरा गरेर युवतीलाई ह्यारेस गरेका थिए । कटवाललाई एक पटकका लागि माफी दिन भन्दै मानसिक तनाव प्रहरी निरिक्षक श्रेष्ठले दिएपछि पीडित युवती रुदै इलाका प्रहरी कार्यालय इटहरीबाट बाहिरिएकी थिइन् । उनि बाहिरीए लगत्तै प्रहरीले कटवाललाई छाडेको थियो । त्यसबेला प्रहरीले आर्थिक लाभ लिएर कटवाललाई छाडेको चर्चा व्यापक भएको थियो ।
आफुमाथि कटवालले मात्र नभई प्रहरी कार्यालयबाट समेत पीडा दिने काम गरेको भन्दै न्यायका लागि घटना भएको १३ दिनपछि महिला अधिकारकर्मीहरुको सम्पर्कमा आएकी थिइन् । महिला अधिकारकर्मीहरु सहितको एक टोली पीडितको तर्फबाट निवेदन दर्ताका लागि ११ जेष्ठमा इलाका प्रहरी कार्यालय इटहरी पुगेका थिए । तर, इलाका प्रहरी कार्यालय इटहरीका मुद्धा फाँटको इन्र्चाज समेत रहेका प्रहरी निरिक्षक श्रेष्ठले सुरुमा अधिकारकर्मीहरुलाई समेत मानसिक तनाव दिने खालका व्व्यहार गरेका थिए । उनले पीडित युवतीको अभद्र व्यवहारमा मात्र निवेदन दिन दवाव दिएका थिए ।
अधिकारकर्मीहरुले करिब २ घण्टासम्म छलफल र दवाव सृजना गरेपछि मात्रै जबरजस्ती करणी उद्योग मुद्धामा निवेदन लिएको थियो । निवेदन लिएपनि प्रहरीले दर्ता गरेको थिएन् । प्रहरीले मेडिकल चेंकका लागि ११ जेष्ठमा जिल्ला अस्पताल इनरुवा पठाएको थियो । प्रहरीले निवेदन दर्ता गर्न आनाकानी गरेपछि पुनः अधिकारकर्मीहरुले दवाव दिएपछि १३ जेष्ठमा मात्र निवेदन दर्ता गरेको थियो । महिला आधारशिला सुनसरी र ओरेक विराटनगरले पीडित युवतीलाई न्याय दिलाउनका लागि कानूनी लगायतका आवश्यक सहयोग गर्दै आएको छ ।