इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित रंगेहात पक्राउ गरेको विषयमा इटहरी उपमहानगरको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै पालिका भित्र काम गर्ने जनप्रतिनिधि,पदाधिकारी, कर्मचारी सबैलाई भ्रष्टाचार जस्तो जघन्य अपराधबाट टाढा राख्नका लागि पटक पटक सचेत गराएपनि अटेर गरेको बताउँदै ध्यानाकर्षण पत्र प्रकाशित गरेको हो ।
ध्यानाकर्षण पत्रमा इटहरी उपमहानगरपालिका भ्रष्टाचार जन्य गतिबिधिप्रति शुन्य सहनशिलताका साथ काम गर्दै आएको बताउँदै, उक्त घटनामा जो सगँ सम्बन्धिित छ, उहि जिम्मेवार हुनु पर्ने बताईएको छ ।
साथै उक्त घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायिक निकायबाट हुने अनुसन्धानमा आबश्यक सहयोग गर्न समेत उपमहानगर तयार रहेको जानकारी गराएको छ ।
गत १ गते इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोख्रेललाई ६५ हजार घुस रकम सहित इटहरीको विपी चोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले रंगेहात पक्राउ गरेको थियो ।