इटहरी :सुनसरीको सिमानामा केही दिन अघि भएको सशस्त्र प्रहरी सँगको मुठभेटमा घाइते भएका हरिनगरा गाउँपालिका ७ का साहवाज मियाँको मृत्यु भएको छ ।

गत साउन २ गते सशस्त्र प्रहरी सँग भएको झडपमा मियाँलाई गोलि लागि घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार मृत्यु भएको हो । हरिनगरा गाउँपालिका ७ घुस्की स्थित दशगजामा साउन २ गते अवैध रुपमा सामान ल्याउँदै गरेको समयमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी सँग झडप भएको थियो । सशस्त्रको हतियार खोस्न खोज्दा मियाँलाई पेटमा गोलि लागेको थियो ।

मियाँको मृत्यु भए पछि स्थानीय आन्दोलित बनेका थिए । विहिबार उनको मृत्यु भए पछि स्थानीयले मृतक परिवारलाई क्षतिपुर्तिको माग सहित शहिद घोषणा गर्नु पर्ने भन्दै आन्दोलन गरेका थिए ।

स्थानीयले आन्दोलन चर्काउन थाले पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेलको संयोजकत्वमा विहिबार नै छलफल भएको थियो । छलफलमा मियाँको परिवारलाई १० लाख रुपैया क्षतिपुर्ति दिलाउन गृहमन्त्रालयमा पहल गर्ने सहमती भए पछि उनका परिवारले शव बुझेका छन् । मृतकलाई क्षतिपुर्ति दिने र घटनाको सत्यतथ्य छानविन गरि दोषि देखिए कारवाही गर्ने सहमती भएको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । छलफलमा मियाँका परिवार सँग ५ बुँदे सहमती भएको छ ।

यो पनि: सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान, दुई जना घाईते